बलिउडका केही ठुला निर्माता कम्पनीहरू र कलाकारहरूले केही भारतीय सञ्चारमाध्यमको 'गैर जिम्मेवार रिपोर्टिङ'को विरुद्ध अदालतमा मुद्दा हालेका छन् । रिपब्लिक भारतका सञ्चालक अर्णव गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शङ्कर र नविका कुमारको विरुद्ध दिल्लीको उच्च न्यायालयमा मुद्दा हालिएको हो । अपमानजनक टिप्पणी रोक्न माग गर्दै बलिउडका चलचित्र निर्माण कम्पनी तथा ए ग्रेड कलाकारहरूले एकजुट भएर यस विरुद्ध लागेका हुन् । करण जोहर, साहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगण, रोहित सेट्टी पिक्चर्स, यशराज फिल्मस्, विनोद चोपडा फिल्मस्, एक्सेल इन्टरटेन्मेन्ट र सिने–टिबी आर्टिस्ट एसोसिएसन, दि फिल्म एन्ड टिबी प्रोड्यूर्स काउन्सिल, स्क्रिन राइटर्स एसोसिएसन लामो समय पछि एकजुट भएर रिपोर्टिङका केही शैलीलाई लिएर कारबाही गर्न माग गरेका हुन् । 'बलिउडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ ।

सम्पूर्ण बलिउडलाई अपराधीको संज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलिउडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलिउडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ' निवेदनमा भनिएको छ । बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका ठुला निर्माण कम्पनी, स्टार कलाकारका विरुद्ध मिडियामा अपमानजनक तरिकाले रिपोर्टहरू प्रस्तुत भएका थिए । सुशान्तको निधनपछि केही मिडियाले नायिका रिया चक्रवर्तीलाई दोषी देखाउने प्रयास गरेका थिए । सुशान्तको निधनपछि जोडिएको ड्रग्सको मुद्दामा करण जोहर, सलमान खान, साहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल, दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर जस्ता कलाकारको नाम समेत मिडियाले जोडेको थियो । जसका कारण केही कलकारको करियरमा समेत नकारात्मक असर परेको छ ।